sevenstartv.com १७ असार २०८३, बुधवार

सरकारले राज्यविरुद्धको कसुरमा पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अनुसन्धान गर्दै

१७ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अधिवक्ता राधिका खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुलुकी अपराध संहिताको दफा ५० र ५१ अन्तर्गत राजद्रोहको मुद्दा आकर्षित हुने बताएकी छन् ।

राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, तीनभन्दा बढी समूहले डकैती गरेको कसुर, हातहतियार लुटपाट, संगठित अपराधको कसुर पूर्वराजामाथि मुद्दा लगाउन पर्याप्त आधार भएको उनले बताएकी हुन् ।

सरकारले संविधानको अधीनमा रही अनुसन्धान गर्न गृह मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको छ । गृहमन्त्री रमेश लेखकले पनि शनिबार बिहान शुक्रबारको घटना भएको स्थल र सञ्चारमाध्यम अनुगमनका क्रममा हिसात्मक घट्नाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताएका छन् ।

राजावादीको एक समूहले ज्ञानेन्द्रकै निर्देशनमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलनका लागि समिति बनाएको थियो । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आन्दोलनको कमान्डर बनाइएका थिए । शुक्रबार प्रदर्शन गर्नुअघि ज्ञानेन्द्रको निर्देशन लिन बिहीबार उनीहरू निर्मल निवास पुगेका थिए ।

निर्मल निवासबाट फर्केर आएपछि पत्रकार सम्मेलन गरेको सो समूहले शुक्रबार दुई जनाको ज्यान जाने गरी हिंसात्मक आन्दोलन गरेको थियो । सोही विषयलाई लिएर सरकारले राज्यविरुद्धको कसुरमा पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अनुसन्धान गर्ने भएको छ ।