प्रदर्शनी मार्ग क्षेत्रमा सवारी डाइभर्ट सुरु
काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा गणतन्त्रका पक्षधर समूहले बिच सडकमा मञ्च तयार गरेका छन् । पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको सडकमा मञ्च निर्माण गरिएको कारण ट्राफिक प्रहरीले टुँडिखेल घुम्ने सवारी साधनलाई डाइभर्ट गरेको छ ।
काठमाडौंको प्रदर्शनी मार्गमा गणतन्त्रका पक्षधर र तीनकुनेमा आज राजतन्त्र पक्षधरले प्रदर्शन गर्दैछन् । गणतन्त्रको पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निकै चासोपूर्वक हेरिएको छ ।
रणदीप चोकबाट भद्रकालीतर्फ आउने सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ । प्रदर्शन स्थलतर्फ जान खोज्ने सवारी साधनलाई जय नेपाल हल र बागबजारबाट डाइभर्ट गरिएको छ ।
न्यु प्लाजाबाट पद्मोदयतर्फ जाने सवारीलाई रोक लगाइएको छ । नियमित रूपमा टुँडिखेल घुम्ने बसहरूलाई ट्राफिक प्रहरीले त्रिपुरेश्वरबाट डाइभर्ट गरेको छ । गणतन्त्र पक्षधर प्रदर्शनकारीहरू जम्मा भएसँगै माइतीघर, कुपण्डोल र सोह्रखुट्टे क्षेत्रमा पनि सवारी डाइभर्सन गर्ने ट्राफिक प्रहरीको योजना छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को ब्यानरमा पूर्व राजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन आयोजना गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
तीनकुनेस्थित खुल्ला चउरमा हुने सभाको कारण ट्राफिकले सिनामंगल र कोटेश्वरबाट गाडीहरुलाई बागमती करिडोरतर्फबाट डाइभर्ट गरेको छ । कोटेश्वर चोकमा प्रदर्शनको कारण सड्क अवरुद्ध नभएसम्म सवारी चल्न दिइने र त्यसपछि मात्रै डाइभर्ट गरिने जनाइएको छ ।








