sevenstartv.com १६ असार २०८३, मङ्गलवार

संविधानको रक्षा गर्न प्रतिवद्ध रहेको संविधानसभा परिषद् नेपालको भनाई

समाज विखण्डन गर्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त

११ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । संविधानसभा परिषद् नेपालले अराजक गतिविधिका कारण अस्थिरता सिर्जना भएको बताएको छ । 

सोमबार परिषद्ले पत्रकार सम्मेलन गरेर अहिले देखिएका अराजक गतिविधिले राजनीतिक अस्थिरता सिर्जना गरेको ठहर गरेको हो । परिषद्का अध्यक्ष अनन्त पौडेलले अराजक गतिविधिका कारण राजनीतिक अस्थिरता सिर्जना भएको, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने र नेपाली समाज विखण्डन गर्ने षड्यन्त्र भइरहेको आरोप लगाए । 

उनले राजावादीहरुको प्रदर्शनप्रति इंगित गर्दै संविधानको मर्म र भावना विपरित संवैधानिक व्यवस्थामाथि नै हमला गर्ने काम भएको बताएका हुन् । उनले नेपालको लोकतन्त्र बलिदान, संघर्ष र नेपाली जनताको अभिमतबाट स्थापित भएको भन्दै लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएको छ ।

नेपालमा गणतन्त्र स्थापना गर्नु केबल व्यवस्थागत परिवर्तन मात्र नभइ ऐतिहासिक परिवर्तन रहेको जिकिर संविधानसभा परिषद् नेपालको छ । संविधानसभा परिषद् नेपाल संविधानको रक्षा गर्न प्रतिवद्ध रहेको जिकिर गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन निरन्तर लागिरहने बताए ।

संविधानसभा परिषद् नेपालले पछिल्लो समय केही समूहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावना विपरित गतिविधि गरिरहेको भन्दै भत्र्सना गरेको छ ।