नेदरल्याण्ड्ससँग अमेरिका पराजित
काठमाडौं । आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्ससँग अमेरिका पराजित भएको छ । सिरिज अन्तर्गत नेदरल्याण्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकालाई पराजित गरेको हो ।
नेदरल्याण्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा भएको खेलमा घरेलु टोलीले अमेरिकालाई १९ रनले पराजित गरेको छ । नेदरल्याण्ड्सले दिएको २ सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ५ ओभरमा अल आउट हुँदै २ सय १८ रन मात्र बनायो । अमेरिकाका लागि का लागि मिलिन्ड कुमारले सर्वाधिक ६९ रन जोडे । उनले ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
आरोन जोन्सले ७० बलमा ४७, ओपनर स्मिथ पटेलले ४६ बलमा ३८, शाल्डि भान साक्वयले ४९ बलमा २१, शयान जाहिङ्गरले २५ बलमा २० रन जोडे । नेदरल्याण्ड्सका लागि भिभियन किंग्माले ३, आर्यान दत्त, पल भान मेकरम र शरिज अहमदले समान २ तथा काइल क्लेनले १ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ६५ रन जोडे । उनले ५५ बलमा ६ चौका प्रहार गरेका थिए । विक्रमजित सिंहले ८३ बलमा ५९, म्याक्स ओडाउडले ६७ बलमा ४९, काइल क्लेनले १३ बलमा अविजित १८ तथा शरिज अहमदले ४१ बलमा १६ रन जोडे ।
८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्याण्ड्स ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका २ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

.gif)