sevenstartv.com १६ असार २०८३, मङ्गलवार

देशभर गणतन्त्रको पक्षमा सचेतना अभियान चलाउने एमालेको घोषणा

८ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले देशमा भइरहेका प्रतिगामी हर्कतविरुद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । राजा फर्काउने भन्दै राजावादी समूहलाई काउन्टर दिन एमालेले अभियान थाल्ने निर्णय गरेको हो । 

एमालेले यही चैत ११ गते एकै दिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरुद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।

यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिने छ । चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका छ वटै प्रदेशका सहर धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने छ । बिहीबार महासचिव शङ्कर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम  प्रभावकारी
रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।  

चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष सभाको आयोजना गर्ने तथा काठमाडौँ उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने एमालेले जनाएको छ ।