कांग्रेस-एमालेसँगको सहकार्यले माओवादीलाई घाटा भएको अध्यक्ष दाहालको दाबी
भर्खरै सम्पन्न स्ववियु निर्वाचनले माओवादीको भविष्यको चित्रण गरेको जिकिर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गएका निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन् ।
पार्टीको जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई-मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले गत उपनिर्वाचन र अहिले जारी स्ववियु निर्वाचनको परिणामले उक्त अवस्था देखाएको जिकिर गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले एमाले र कांग्रेसले अब माओवादी केन्द्र आफ्नौ खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत सावित भएको पनि बताए ।
भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा युवा विद्यार्थीको रुझान, चेतना कतातिर जाँदैछ भन्ने कुराको राम्रो संकेत दिइएको उनको तर्क छ । कहिले कांग्रेस र एमालेसँग सहकार्य गर्दा यसअघि घाटा भएको प्रमाणित भएको उनको जिकिर छ ।








