sevenstartv.com १६ असार २०८३, मङ्गलवार

साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग ऊर्जा मन्त्रालयको अनुरोध

परराष्ट्रमन्त्री राणामार्फत भारतसँग कुटनीतिक संवाद

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको छ । उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि राति १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको हो । हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेको छ ।

भारतबाट हाल दैनिक ७ सय मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ । जसका कारण उद्योगहरू प्रभावित भएका छन् । ऊर्जामन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन सुक्खायाममा घट्ने भएकाले साँझको समयमा बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरिएको बताए । 

परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतीय विदेशमन्त्री एस जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति सहज बनाउन अनुमति दिन आग्रह गरिसकेको र भारतीय दूतावासले समेत नेपाललाई आवश्यक सहयोग गर्न भारत सरकारसँग समन्वय गरिरहेको जनाइएको छ ।  ऊर्जा मन्त्रालयका अनुसार नेपालको अधिकांश जलविद्युत् परियोजना ‘रन अफ द रिभर’ भएकाले सुक्खायाममा उत्पादन घटेर १ हजार मेगावाटमा सीमित हुन्छ । 

यस्तो अवस्थामा भारतबाट बिजुली आपूर्ति आवश्यक पर्ने भएका कारणा सरकारले दीर्घकालीन रूपमा ठूला जलविद्युत् परियोजनालाई प्राथमिकता दिने नीति लिएको छ । नेपाल विद्युत प्राधिकरणले भारतीय एक्स्चेन्ज मार्केटबाट बिजुली खरिद गरी आन्तरिक माग पूर्ति गर्ने प्रक्रिया अघि बढाइरहेको छ । 

सुक्खायामका बेला भारतीय बजारबाट ‘सोलार आवर’ मा मात्र बिजुली आयात गर्न सकिने हुँदा उद्योगहरूलाई लोडसेडिङको चुनौती थपिएको छ । भारतले साँझको समयमा २ सय ३० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरे नेपालका उद्योगहरूलाई ठूलो राहत पुग्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।