sevenstartv.com १६ असार २०८३, मङ्गलवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको छ : प्रधानमन्त्री

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसद्हरूसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डिङ, पार्किङ एण्ड नेभिगेसन शुल्कमा छुट तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको उनको दाबी छ ।

प्रधानमन्त्रीले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले संवद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ । यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्याण्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ। हाल अलजजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन्।  श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको छ। साथै, अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको छ ।’