मकवानपुरस्थित भीमफेदी गाउँपालिका-८ बागमती दोभानमा रहेको बाढीले क्षतिग्रस्त मान्डु हाइड्रोपावरको पुनर्निर्माण अन्तिम चरणमा
चैतको अन्तिमसम्म विद्युत् उत्पादन गर्ने योजना
काठमाडौं । गत असोज ११ र १२ गतेको अविरल वर्षाले बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको मान्डु हाइड्रोपावरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
क्षतिग्रस्त मान्डु हाइड्रोपावरको ७७ प्रतिशत पुनर्निर्माण कार्य सकिएको छ । बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको हाइड्रोपावरको पुनर्निर्माण कार्य सकेर आगामी चैतको अन्तिम सातासम्म विद्युत् पुनः उत्पादन गर्ने योजना रहेको छ । हाइड्रोपावरको विभिन्न क्षेत्रमा पुनर्निर्माणका लागि प्राविधिक र कामदार गरेर सय जना भन्दा बढी विगत दुई महिनादेखि काममा खटिएका छन् ।
क्षतिग्रस्त पावर हाउसको रेट्रोफिटिङको कार्य सम्पन्न भइसकेको छ । पावर हाउस भित्र उपकरणहरू जडान गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।
पेनस्टक पाइपको मर्मत तथा सुरुङमा पसेको बालुवा र लेदो निकाल्ने कार्य अन्तिम चरणमा पुगेको मान्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहले जानकारी दिए ।
पहिरोले मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८ बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको मान्डु हाइड्रोपावरको हेडवक्र्स, पावरहाउस, पेनस्टक पाइप, विद्युत्को टावरमा क्षति पुर्याएको थियो । २०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको हाइड्रोपावरको बागमतीको बाढीले करिब १ अर्ब भन्दा बढी क्षति पु¥याएको प्रमुख सञ्चालक अधिकृत सुन्दर श्रेष्ठले बताएका छन् ।
सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक नै बाढीले क्षतविक्षत बनाएको थियो । निजी क्षेत्रको मान्डु हाइड्रोपावर कम्पनी र चाइनिज कम्पनी संयुक्त लगानीमा बागमतीको पानीबाट विद्युत् उत्पादन गरिएको थियो । सिच्वाङ हेइच्वाङ चाइनिज कम्पनीको सहयोगमा मान्डु हाइड्रोपावर कम्पनीले चार अर्बको लगानीमा बागमती साना जलविद्युत आयोजना निर्माण कार्य २०७२ जेठबाट सुरु गरेको थियो ।

.gif)