स्ववियु निर्वाचन : मनोनयन दर्ता सुरू
काठमाडौं । आगामी चैत पाँच गते हुने स्ववियु निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने समय सुरु हुने बेलासम्म नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
आज ११ बजेदेखि २ बजेसम्मका लागि उम्मेदवार मनोनयनको समय निर्धारण गरिएको छ । पार्टीभित्रका समूह बीचमा सहमति नजुट्दा उम्मेदवार तय हुन नसकेको पार्टी तथा विद्यार्थी नेताहरुले जानकारी गराएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर सहित मुख्य गरी काठमाडौंका ठूला क्याम्पसहरुमा सहमति जुट्न सकेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्री किशोरसिंह राठोर नेतृत्वको नेविसंघको निर्देशक समितिलाई उम्मेदवार चयनमा सहजीकरण गर्न निर्देशन दिएका छन् । देउवा पक्षबाट राठोरसहित प्रतिमा गौतम र राजीव ढुङ्गानाले सहजीकरण गरिरहेका छन् । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले आफ्नो तर्फबाट समन्वय गर्न कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई जिम्मेवारी दिएका छन् । निर्देशक समितिका सदस्य र कार्की बीच सोमबार र मंगलबार छलफल जारी छ ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन दर्ताका लागि आज दिउँसो २ बजेसम्म समय छ । त्यसपछि दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ ।
सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।








