सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साही भएको माओवादी अध्यक्ष दाहालको दाबी
अभियानले जनतामा माओवादीप्रतिको विश्वास बढाएको जिकिर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुनु पर्ने कारणले केही दिनका लागि अभियान स्थगित गरिएको उहाँले जानकारी दिए । काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको दाहालले बताएको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको दावीसमेत गरे ।
सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनको भनाइ छ । हुलाकी राजमार्ग निर्माणमा माओवादी केन्द्रको भूमिकाका कारण पनि सो राजमार्ग आसपासका जनतामा जागरण अभियानले थप उत्साह ल्याएको अध्यक्ष दाहालको भनाइ थियो ।








