'वर्षौंदेखिका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गरेको हाे'
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वर्षौंदेखिका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गरेको बताएका छन् । उनले बेथिति अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरुले पनि कुनै काम नगरेको आरोप लागाएका हुन् ।
मुख्यमन्त्री सिंहले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गरे ।
मधेसका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उनको भनाइ छ ।
उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भएपनि अभियान जारी राख्ने बताए ।








