प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम हुँदैन् : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका छन् ।
इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकउत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसदमा बिचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोप्रति आफु जानकार रहेको भन्दै प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका हुन् ।
प्रेस स्वतन्त्रता देशको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको आधार भएको उनले बताएका छन् । सभामुख घिमिरेले लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली भएको धारणा राखे ।
उनले कुनै पनि कानुनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्न नहुने र प्रेस स्वतन्त्रताप्रति आफु प्रतिवद्ध रहेको बताए । उनले बिगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ अवसर खोज्नका लागि सरोकारवाला निकायबिच समन्वय हुनुपर्ने जिकिर गरे ।








