राष्ट्रिय सभामा पाँच वटा अध्यादेश पेस हुँदै
काठमाडौं । राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि आज सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने भएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने छ ।
संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ । सरकारले माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा छ वटा अध्यादेश पेस गरेकोमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ बाहेकका पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागेको हो ।
सभाको सम्भावित कार्यतालिकामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ निर्णयार्थ प्रस्तुत हुने छ ।
राष्ट्रिय सभामा अध्यादेश पारित गर्न ३० जना सदस्य आवश्यक रहेकोमा अध्यादेशको पक्षमा अधिकतम २८ जना सदस्य मात्रै छन् । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नेपालले भूमिसम्बन्धी अध्यादेशबाहेकलाई मात्रै स्वीकार गर्ने अडान लिएपछि सरकारले सहमतिका लागि निर्णयार्थ प्रस्तुत गर्ने कार्यमा विलम्ब गरेको थियो । सो दलको राष्ट्रिय सभामा तीन जना सदस्य छन्। जसपा नेपाल आफ्नो अडानमा कायमै रहँदा र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले समेत भूमि अध्यादेश अस्वीकार गर्ने जनाएपछि अप्ठ्यारोमा परेको सरकारले सो अध्यादेशबाहेकमा सहमति गरेर निर्णयार्थ प्रस्तुत गर्न लागेको हो ।








