कांग्रेस-एमाले सरकार जति लामो जान्छ आफूलाई त्यति फाइदा हुने माओवादी अध्यक्ष दाहालको दाबी
दुई तिहाइको अहंकार गर्ने सरकारले अध्यादेश ल्याउनु नै गलत भएको टिप्पणी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताएका छन् ।
मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकार आफ्नो हिसाबले चलेपनि ठीक काम भने नगरेको बताएका हुन् । सरकारले गरिरहेका कामहरू गलत रहेको र यो जनताले यो बुझिराखेको उनले बताए ।
सत्तारुढ दलभित्रै समेत असन्तुष्टि रहेको भन्दै उनले आफूहरू सरकार बदल्नेतिर नलागेको दाबी गरेका छन् । अर्को प्रसंगमा अध्यक्ष दाहालले सामान्य अवस्थामा अध्यादेश ल्याउने विषय लोकतान्त्रिक हुन नसक्ने बताए । सरकारले संसद अधिवेशन सुरु हुनु भन्दा केही दिन अगाडि मात्रै विभिन्न अध्यादेश जारी गरेको थियो ।
संघीय संसदको चालु अधिवेशन गत माघ १८ गते सुरु भएको हो । अधिवेशन नरहेका बेला सरकारले ल्याएका ६ वटा अध्यादेश दुवै सदनमा पेस भइसकेका छ्न । तर, दुवै सदनबाट अध्यादेश स्वीकृत हुन बाँकी छ ।








