sevenstartv.com १६ असार २०८३, मङ्गलवार

परराष्ट्रमन्त्री डा. देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो । 

भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । सो भेटका अवसरमा मन्त्री डा. देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस् सरकारको सहयोग र सदभावका लागि धन्यवाद ज्ञापन गरेकी छन् । 

मन्त्री डा. देउवाले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषदको सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि स्वीस् सरकारलाई पनि आग्रह गरीन् ।  

मन्त्री डा. देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्नसक्ने आवश्यक सहयोगका लागि स्वीस् सरकारलाई पनि आग्रह गरेकी छन् । सो भेटवार्तामा संयुक्त राष्ट्रसंघका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायत पनि उपस्थित थियो ।