कर्णाली प्रदेशबाट एक वर्षमा ४ अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
काठमाडौं । कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी भएको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा चार अर्ब रुपैयाँ बढीको खाद्यान्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका १० जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजारको खाद्यान्न, फलफूल तथा खसी बोका निकासी भएको थियो । विशेषगरी कर्णालीबाट खाद्यान्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ, भने तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलु लगायतका वस्तु निकासी हुने गरेको छ ।
वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसीबोका निकासी हुने गरेको निर्देशनालयको तथ्यांक छ । यस्तै दूध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज निकासी हुने गरेको छ । कर्णाली प्रदेश सरकारले दूध उत्पादक किसानलाई दूधमा अनुदान दिँदै आएको छ । अहिले कर्णालीमा खपत भएर पनि वार्षिक पाँच हजार दुई सय ६० मेट्रिक टन दूध निकासी हुने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

.gif)