sevenstartv.com १६ असार २०८३, मङ्गलवार

भ्रष्टाचार काण्डहरुको छानबिन कहाँ पुग्यो : प्रचण्ड

२४ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारेकोमा आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् ।

 ‘अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्‍यो । मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रस्ट थियो, अब खोजिने छैन, त्रिभुवन विश्वविद्यालयको जग्गा’, प्रचण्डले भने, ‘अब रोकिने छ, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया । अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा काँग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो ।’

पछिल्ला सात महिनामा सरकारले जनताको केही पनि आवाज नसुनेको उल्लेख गर्दै उनले आज जनता पनि सरकारलाई नसुन्ने ठाउँमा पुगेको बताए । सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानबिन कहाँ पुग्यो भन्ने प्रश्न गर्दै प्रचण्डले थप सोधे, ‘अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितो पत्र बोर्डमै मिलाइयो । तत्कालीन सेन्चुरी बैङ्कको अर्बौँ ‍‍‍ ऋणको दुरुपयोगको छानबिन के भयो ? सामसुम पारियो ।  नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झाको बयान के भयो रु पूरै नक्कली शरणार्थी काण्ड अब बेचन झामै सीमित भयो । बाँसबारी छाला जुत्ता कारखाना जग्गाको काण्ड के भयो रु त्यो पनि मिलाइयो, चोख्याइयो, जोगाइयो ।’