आजपाले चैत २४ गते काठमाडौंमा प्रदर्शन गर्ने
काठमाडौं । आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा चैत २४ मा काठमाडौंमा विशेष प्रदर्शनका साथै खबरदारी सभा गर्ने भएको छ ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटीको आज कोटेश्वर स्थित पार्टी कार्यालयमा बसेको बैठकले काठमाडौंमा चैत २४ मा विशेष प्रदर्शनका साथै खबरदारी सभा गर्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भईसकेको दाबी गर्दै भ्रष्टाचारीलाई खबरदारी गर्नका लागि दलाल दलतन्त्रका विरुद्ध विशेष प्रदर्शन र खबरदारी सभाको तयारीमा जुट्न निर्देशन दिए ।
प्रदर्शन र भ्रष्टाचारीलाई खबरदारी गर्न दलाल दलतन्त्र विरुद्धको खबरदारी सभालाई भव्यरुपमा सम्पन्न गर्नका लागि आजपाले विभिन्न समितिहरू गठन भएको छ । आजपा वरिष्ठ उपाध्यक्ष तिलक थापाको नेतृत्वमा जनपरिचालन कमिटी, महासचिव त्रिभुवन साहको नेतृत्वमा व्यवस्थापन समिति गठन भएको छ ।
यस्तै आजपाले माघ २६ मा काठमाडौंमा कर आतंक विरुद्ध अन्तरक्रिया कार्यक्रम गर्न लागेको जनाइएको छ ।








