सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएकाे हाे : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् ।
आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार सरकारहरुको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताएका हुन् । उनले सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने बताए। उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरु सरकारले आगामी दिनमा पनि अघि बढाउने बताएका छन् ।
उपप्रधानमन्त्री पौडेलले भने, ‘म भन्न चाहन्छु, यो हामीले अहिले चालेको कदमहरु अन्तिम कदम होइनन् । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति, उत्पादन, उत्पादकत्व वृद्धि गर्नका निम्ति, जिडिपी वृद्धि गर्नका निम्ति हामीले चालेको यो अन्तिम कदम होइन। सरकारले चालेको यो अन्तिम कदम होइन। यो एउटा कदम हो । अध्यादेशका माध्यमबाट कानून संशोधनको क्षेत्रमा यो कदमहरु चाल्यौँ। यस्ता कदमहरु हामी अनेक पटक चालिरहन्छौँ। निराशालाई आशामा बदल्नुपर्छ। अविश्वासलाई विश्वासमा बदल्नुपर्छ। शिथिलतालाई क्रियाशिलता र गतिशिलतामा बदल्नुपर्छ। हामीले नै अर्थतन्त्र चलायमान र गतिशिल बनाउने हो। हरेक नागरिकलाई सुखी र समृद्ध जीवनको प्रत्याभुति गर्ने हो भन्ने अठोटका साथमा सरकार क्रियाशिल छ।’

.gif)