सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद
काठमाडौं । सशस्त्र प्रहरीद्वारा पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो ।
चालु आवको छ महिनामा भन्सार छली गरेर भित्र्याइएका २१ करोड २८ लाख २६ हजार मूल्य पर्ने सामान बरामद गरेको जनाइएको छ । सशस्त्र प्रहरी बलले चालु आवको छ महिनामा १६ करोड ४७ लाख ४१ हजारको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा चार करोड ६० लाख ८५ हजार मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।
सशस्त्र प्रहरीले आव २०८०–८१ को छ महिनामा भन्सार छली गरेर भित्र्याइएको चार करोड ७७ लाख मूल्यका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो । आव २०८०’८१ को छ महिनाकै अवधिमा बिलबिजक नभएका नौ करोड ८२ लाख ६९ हजारको सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग खुला रूपमा जोडिएको छ ।

.gif)