कन्चनपुरमा भारतीयले नेपाली भूमि भोगचलन गरेकोबारे जवाफ दिन सांसद्हरुको माग
काठमाडौं । नेपालको भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको सम्बन्धमा सांसद्हरूले गृहमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडू र एमाले सांसद् रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्र भारतीय नागरिकले खेतीपाती गरेको विषय विभिन्न सञ्चारमाध्यममा आएको भन्दै त्यसबारे सांसदहरुले सरकारसँग जवाफ मागेका हुन् । गृहमन्त्री लेखककै निर्वाचन क्षेत्रसमेत रहेको क्षेत्रमा भारतीयले नेपालको भूमि भोगचलन गरेको विषयबारे सांसद् पन्तले प्रश्न गरे ।
भूमि नेपालको नक्सामा तर भोगचलन भारतले गर्ने कार्य ठीक नभएको कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडूले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्रमा भारतीय नागरिकले खेतीपाती गरिरहेको थियो । भारत, उत्तर प्रदेशको पिलिभित जिल्लामा पर्ने गोरख डिबीसँगै जोडिएको निकुञ्जको दक्षिणी क्षेत्रमा भारतीय नागरिकले लामो समयदेखि खेतीपाती गरिरहेको सार्वजनिक भएको थियो ।।








