साढे सात अर्बको लागत ५३ अर्ब पुग्यो
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बाँकेको सिक्टा सिँचाइ आयोजनाको निर्माण १९ वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०६१र६२ मा स्थापना भई आव २०६२र६३ बाट भौतिक निर्माणको काम शुरू भएको थियो। आव २०८१र८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१.७९ प्रतिशत भौतिक प्रगति भएको छ।
२०७१ भदौ ८ गते २५ अर्ब दुई करोड रुपैयाँ र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९र९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्याइएको छ । २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर १२ अर्ब ८० करोड रुपैयाँ पुर्याइएको थियो।
आयोजना शुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा २१ अर्ब ५५ करोड रुपैयाँ खर्च हुँदा वित्तीय प्रगति ४०.७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१.७९ प्रतिशत मात्र पुगेको छ । चालु आवका लागि एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म २३ करोड खर्च भएको छ।
नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने ४४० हेक्टरमध्ये हालसम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ।
३३ हजार ७६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।
राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ।

.gif)