sevenstartv.com ७ पुष २०८२, सोमवार

काठमाडौं तराइ फास्ट ट्रयाक निर्माणका लागि प्राधिकरणले विद्युतको वैकल्पिक व्यवस्था गर्ने

१६ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई÷मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका-३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् आपूर्ति गर्ने भएको छ ।  विद्युत् अभावमा फास्ट ट्रयाक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गर्ने तयारी अघि बढाइसकेको जनाएको छ । 

उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या नभएको प्राधिकरणको भनाइ छ । फास्ट ट्रयाकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमापुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि पर्याप्त विद्युत् हुँदा आयोजना प्रभावित भएपछि प्राधिकरणले आपूर्ति दिन लागेको हो । फास्ट ट्रयाकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ । 

काठमाडौंमा जगेडामा रहेको २२ दशमलव ५ एमभिएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ्ग सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्रयाकका लागि आवश्यक विद्युत् आपूर्ति दिइनेछ । ढोर्सिङ्ग सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालू रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सपर्मर थप्न लागिएको हो । 

गत असोज ११ र १२ गतेको वर्षा र बाढीपहिरोले माण्डु हाइड्रोपावरले सञ्चालन गरेको २२ मेगावाटको बागमतीखोला साना जलविद्युतको विद्युतगृहलगायतका संरचनामा क्षति भएर उत्पादन बन्द हुँदा विद्युत आपूर्ति हुन सकेको छैन । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्