एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज
काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको हो ।
आदेशको विवरण सार्वजनिक भइसकेको छैन । सर्लाही-४ का स्वतन्त्र सांसद अमरेश कुमार सिंहले रेनोल्ड होल्डिङको शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट निवेदन दर्ता गर्नु भएको थियो । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट यु।के।लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । शेयर खरिदबिक्रीको निर्णय सर्वाजनिक भएलगत्तै विभिन्न तहबाट प्रश्न उठेको छ ।
पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा शेयर विक्री गर्न खोजिएको भनी रिट निवेदन दर्ता भएको थियो । आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई ५५ मिलियन अमेरिकी डलर ९करिव ६ अर्ब ६५ करोड रुपैयाँमा शेयर बिक्रीको घोषणा गरेको थियो । सन् २०१६ मा एक खर्ब ४३ अर्ब रुपैंयामा आजियाटाले एनसेलको ८० प्रतिशत शेयर किनेको थियो ।
सात वर्षमा नै ठूलो रकम गिरावटका साथ शेयर खरिदबिक्री भएको भन्दै सांसदले सिंहले प्रश्न उठाएका थिए । एनसेलले वार्षिक करिव ४० अर्ब रुपैयाँ आम्दानी गरेको अवस्थामा कौडीको भाउमा सेयर बिक्री गरिनु गलत भएको उनको दावी थियो । उनले एनसेलको शेयर खरिदबिक्री गरी नामसारी गर्ने काम नगर्न नगराउन माग गरेका थिए ।








