कर्णाली विकास बैंकको व्यवस्थापन आजदेखि राष्ट्र बैंकले सम्हाल्यो
काठमाडौं । समस्याग्रत घोषणासँगै कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आजदेखि राष्ट्र बैंकबाट खटिएको टोलीले सम्हालेको छ ।
व्यवस्थापन नियन्त्रणमा लिनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको तीन सदस्यीय व्यवस्थापन समूह बुधबार नै नेपालगञ्ज पुगेको थियो । पछिल्ला केही दिन यता यो बैंकमा समस्या रहेको थियो ।
मुख्य गरी बचतकर्ताको पैसा फिर्ता दिन नसक्नु (तरलता अभाव)का कारण बैंक समस्यामा परेपछि यो बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएको हो । राष्ट्र बैंकको यो टोलीले कहिलेसम्म व्यवस्थापन नियन्त्रणमा लिन्छ भन्नेबारे कुनै समय तोकिएको छैन । तर, अर्को निर्णय नभएसम्मका लागि भनिएको छ । यद्यपि एक महिनाभित्रै संस्थालाई लयमा नयाँ व्यवस्थापन चयन गर्ने योजना रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
यो बैंकमा करिब ५ अर्ब निक्षेप र ३ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको छ । यस बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको छैन भने निष्क्रिय कर्जा अनुपात ४०।८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको जनाइएको छ ।

.gif)