‘हनी ट्रयाप’ प्रकरण : इन्स्पेक्टर बिनुकुमारी अदालतमा उपस्थित
काठमाडौं । आपराधिक लाभको मुद्दामा मुछिएकी प्रहरी निरीक्षक बिनुकुमारी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएपछि बयान थालिएको छ ।
बिनुकुमारी बयानमा उपस्थित भएसँगै अब बयान लिइसकेर मुद्दाको सुनुवाइ प्रक्रिया पनि अघि बढेको छ । मोरङ निवासी एकजना घरजग्गा कारोबारीलाई ‘हनी ट्रयाप’मा पारेर रकम असुलेको घटनामा शाहीलाई पनि प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।
इन्द्रकुमार राईको जाहेरीले भीमा देवी थापासमेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा चलाइएको थियो । यो मुद्दामा शाही फरार भएकी थिइन् । फरार भनिए पनि उनी कीर्तिपुरमा हुने नेपाल प्रिमियर लिगको खेल हेर्न पुग्थिन् । गृहमन्त्री रमेश लेखक उपस्थित भएको दिन पनि उनले एनपीएल कीर्तिपुर पुगेरै हेर्ने गर्थिन् ।
‘हनी ट्रयापिङ’मा संलग्न गिरोहलाई कार्यालयमै बोलाएर बलात्कार आरोपी युवकसँग रकम मोलमोलाइ गरेको आरोपमा उनी छानबिनमा तानिएकी थिइन् ।
ललितपुर प्रहरी परिसरअन्तर्गतको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक शाहीको जिम्मेवारी खोसेर गत असोजमा छानबिन थालिएको थियो ।








