sevenstartv.com १६ असार २०८३, मङ्गलवार

शान्ति सुरक्षा मार्फत देशमा आर्थिक विकास एवं विकास निर्माणका काम अगाडि बढ्ने : गृहमन्त्री लेखक

५ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा मार्फत देशमा आर्थिक विकास एवं विकास निर्माणका काम अगाडि बढ्ने बताएका छन् । पाल्पाको रामपुरमा ईलाका प्रशासन कार्यालय भवनको उद्घाटन गर्दै उनले शान्ति सुरक्षा नागरिकले प्राप्त गर्नुपर्ने पहिलो आधारभूत अधिकार भएको र संविधानको रक्षाको सर्त पनि भएको बताएका हुन् । 

शान्ति सुरक्षाको सुनिश्चितताले नागरिकले आफ्नो हक अधिकारहरू निर्वाद रूपले उपभोग गर्न पाउने समेत भएकोले यसलाई गम्भीरतापूर्वक बुझ्न जरूरी रहेको उल्लेख गरे । जनताको घरबाट सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय रामपुरले अहिले भवन निर्माण संगै आफ्नै भवनबाट सेवा दिन थालेको हो । भबन चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्माण सम्पन्न भएको हो । नव निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ।
गृहमन्त्री लेखकले रामपुरमा नायब प्रहरी उपरीक्षक सहितको दरबन्दीका लागि मन्त्रालयले व्यवस्था गर्ने बताए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य, राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, लुम्बिनी प्रदेशका अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजुप्रसाद श्रेष्ठ, प्रदेश सांसद वीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना लगायतले पाल्पाको विकास, आवश्यकता तथा शान्ती सुरक्षा एवं सेवा प्रभावकारी बनाउनुपर्ने र नागरिकले जनगुनासो नहुने गरि काम गर्नु पर्ने बताए । 

उद्घाटन कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले  सदरमुकाम तानसेनबाट प्रवाह हुँदै आएको राहदानी र राष्ट्रिय परिचयपत्र सेवा रामपुरबाटै प्राप्त भएपछि स्थानीय हर्षित भएको बताएका छन् । सुबेदीले रामपुर नगरपालिकाको १० वटै वडा, पूर्वखोला गाउँपालिकाको वडा नं १ र निस्दी गाउँपालिकाको वडा नं १ देखि ६ वडा तथा रामपुर, निस्दी र पूर्वखोलाका १७ वडाका बासिन्दा लाभान्वित हुने बताए । गृह सचिव गोकर्णमणी दुवाडीको अध्यक्षयतामा भएको कार्यक्रमको सन्चालन जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले गरेका थिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्