धेरै सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरुमा रहेको प्रचण्डको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरुमा रहेको दाबी गरेका छन् । चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परिसकेको बताएका हुन् ।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेबारे बुझ्दा सहकारी प्रकरणमा केही छैन भन्ने सबै सरकारी निकायबाट सूचना आएपछि सदनमा पनि बोलेको बताए । उनले लामिछानेले अदालतलाई सघाउछु भन्दा भन्दै पनि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिएको भन्दै टिप्पणी गरे । सरकारको यस प्रकारकोे ज्यादतीबारे संसदको विशेष अधिवेशन बोलाएर त्यहाँबाट पनि विरोध गर्ने उनको भनाई थियो । साथै उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताए ।
चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनको तर्क थियो । इन्डो प्यासेफिक स्ट्राटिजी (आइपिएस) र बिआरआईका सन्दर्भमा अध्यक्ष प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो । अध्यक्ष प्रचण्डले नागरिकले अपेक्षा गरेको विकासको चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित रहेको बताएका छन् । आफूहरुको ध्यान सरकारतिर नरहेको तर सरकारका कामको खबरदारी निरन्तर गरिरहने उनको भनाइ छ ।








