रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतकाे अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो ।
आइतबार कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न पाउनुपर्ने माग गरे पनि अदालतले ४ दिनको मात्रै अनुमति दिएको हो । जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार अदालत लगिएको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।








