प्रधानमन्त्री ओली स्वदेश फर्कदै
काठमाडौं । प्रधानमन्त्री ओली चीनको बेइजिङबाट स्वदेशका लागि प्रस्थान गरेका छन् । ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन् । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन गएका थिए बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिन फिङ, समकक्ष लीलगायतसँग भेटवार्ता गर्नुका साथै नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्।








