sevenstartv.com ४ पुष २०८२, शुक्रवार

काठमाडौंको पहिलो जित, कर्णाली ३ विकेटले पराजित

१९ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ । बुधबार त्रिवि क्रिकेट स्टेडियममा भएको खेलमा  काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । 

पहिले ब्याटिङ गर्दै शिखर धवनको ७२ रनको योगदानमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती दिएको थियो । कर्णालीका लागि नटआउट रहेका शिखरले ५२ बलमा ७२ रनको शानदार पारी खेलेका थिए । तर काठमाडौंका करण केसीको विस्फोट ब्याटिङले उनको प्रदर्शन पनि ओझेलमा पारिदियो ।

काठमाडौंको जितमा नटआउट रहेका सुमित महर्जनले ३७ बल सामना गर्दै ४० रनको योगदान दिए । जेर्राड इरास्मसले २८ बलमा ३८ रनको योगदान गरे । उता मिचेल लेभिटले १९ बलमा २२ रन बनाए। कप्तान एवम् अलराउन्डर करणले काठमाडौंका लागि १० बलमा २८ रनको विस्फोटक ब्याटिङ गरेपछि खेल कर्णालीको हातबाट उम्किएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले काठमाडौंसामू १ सय ५० रनको लक्ष्य दिएको थियो । कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कर्णालीका ओपनर शिखर धवनले ७२ रनको अर्धशतकीय पारी खेले । एनपीएलमा धवनको यो पहिलो अर्धशतक हो । यस्तै, चाल्डिक वाल्टनले २१, जिशान मक्सुद १४, बाबर हायत १३ तथा गुलशन झाले १२ रन जोडेका थिए ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कँडेल र करण केसीले एक–एक विकेट लिए । काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो । यसअघि कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको थियो । चितवन राइनोजसँग पहिलो खेलमा पराजित काठमाडौंले यो प्रतियोगितामा पहिलो जित निकालेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्