नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार लामिछाने विजयी
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । उनी ४२७२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार इन्द्रा चन्द सिंहले ३१४७ मत मात्र पाइन् । एमाले उम्मेदवार सुनिता बोहराले २५४२ मत ल्याइन् ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीको सहयोगमै कांग्रेस उम्मेदवार सुनिता सिंह उपमेयरमा निर्वाचित भएकी थिइन् । तर, जाजरकोट भूकम्पमा परेर १७ कात्तिकमा सिंहको निधन भएको थियो ।
रिक्त रहेको पदमा आइतबार भएको निर्वाचनमा माओवादी उम्मेदवार लामिछानेले जित निकालेकी हुन् । उनको जितसँगै नलगाड नगरपालिकामा मेयर र उपमेयर दुवै माओवादी केन्द्रका बनेका छन् । नगरपालिकाका अधिकांश वडामा समेत माओवादी जनप्रतिनिधिको बाहुल्य छ ।








