डा. बैकुण्ठ अर्यालले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएका हुन् । आगामी मन्त्रिपरिषद बैठकले उनको राजीनामाबारे निर्णय गर्ने छ ।
१४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।
मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए । अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो । मुद्दा लागेको भोलिपल्टै अर्याललाई सरुवा गर्ने निर्णयपछि लीलादेवी गड्तौला निमित्त हुँदै ३१ असारमा कायममुकायम मुख्यसचिव नियुक्त भएकी थिइन् ।
त्यसपछि १० साउनमा मुख्यसचिव नियुक्त भएकी उनले अवकाश पाएपछि १३ भदौमा एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएका थिए । अहिले डा.बैकुण्ठ अर्याल र एकनारायण अर्याल दुवै जना नेपाल सरकारको विशिष्ट श्रेणीको मुख्यसचिव वा सरहको पदमा कायम छन् । यस्तो अवस्थामा १० असारको मन्त्रिपरिषदको निर्णय अनुसार नै अर्याललाई योजना आयोगमा सिर्जित विशेष दरबन्दीका लागि रमाना दिएको थियो ।






