उपनिर्वाचनमा कसैप्रति आग्रह÷पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कसैप्रति आग्रह÷पूर्वाग्रहको अवस्था बन्न दिनु नहुने बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले उपनिर्वाचन घोषणा भएका स्थानीय तहका कार्यकारी प्रमुखहरुलाई अब चलाउन नहुने बताउनु भयो । उहाँले दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचन भइरहेको र त्यहाँका कार्यकारी प्रमुखलाई चलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सबै राजनीतिक दलहरुले उपनिर्वाचनमा जाँदै गर्दा आपसमा संयम र स्वस्थ वातावरणको अनुभुति गर्ने अवस्था बनाउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘उपनिर्वाचन घोषणा भएको छ र उहाँको मन्त्रालयले उपनिर्वाचन हुने तहमै कार्यकारी प्रमुखहरु कतिपय ठाउँमा चलाएको छ ।
दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचन हुँदैछ, कार्यकारी प्रमुख चलाइएको छ । सरकारमा रहेको दलहरु, सरकार बाहिर रहेका कुनैपनि दलहरुले निर्वाचनमा जाँदै गर्दा आपसमा संयम र स्वस्थ वातावरणको अनुभुति गर्ने अवस्था बन्नुपर्छ । माननीय गृहमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । निर्वाचनमा जाँदै गर्दा कसैप्रति आग्रह, पूर्वाग्रहको अवस्था बन्न नदिन गम्भीर बन्नुपर्छ । महामन्त्री शर्माले अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०७६ लाई अबको संसदबाट पनि टुंगिने वा नटुंगिने भन्ने अलमल हटाउनुपर्ने बताउनु भयो ।






