sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेपालले बंगलादेशलाई निर्यात गर्‍यो ४० मेघावाट विद्युत्

३० कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरेको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको कार्यक्रमकाबीच विद्युत् निर्यातको उद्घाटन गरिएको हो । 

दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुनेछ । नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गरिएको हो ।

नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ । पहिलो चरणमा आज एक दिनका लागि बिजुली निर्यात हुनेछ । योसँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता कार्यान्वयनमा जाने छ ।

प्रतियुनिट ६ दशमलव चार अमेरिकन सेन्ट अर्थात् ८ रुपैयाँ ५८ पैसामा बिजुली बेच्न लागिएको छ । भारतले भने प्रसारणलाइन प्रयोग गर्न दिएवापत् ५ दशमलव नौ–पाँच पैसा आम्दानी गर्ने छ । बंगलादेशले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्