फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर शाहकाे गुनासो
काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित सङ्घीय सरकारले असहयोग गर्दै आएको आरोप लगाएका हुन् ।
सङ्घीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिको हतियार बनाउने चक्करमा असहयोग मात्र गरिरहेको उनको आरोप छ । साथै पालिकाको अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गरेको उहाँको टिप्पणी छ ।
मेयर शाहले आफूहरुले फोहोर व्यवस्थानका लागि धेरै विकल्प तथा नयाँ÷पुराना प्रविधि हेरेको तर कार्यान्वयनमा लाग्दा अवरोध गर्ने काम भएको गुनासो गरे । अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच भएपनि आफूहरु नरोकिने मेयर शाहले बताएका छन् ।






