sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'रवि लामिछानेविरुद्ध रुपन्देहीमा मुद्दा चल्ने यकिन छैन'

३० कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन भई नसकेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा भैरहवामा तीन दिनको बयान सकिएपनि अन्य आरोपितको बयान लिएपछि मात्रै मुद्दा चल्ने नचल्ने यकिन हुने छ । अन्य आरोपितको बयानपछि रविसँग पुनः बयान लिनुपर्ने हुनसक्ने र त्यसका आधारमा मुद्दा चल्ने नचल्ने यकिन हुने जनाइएको छ । 

लामिछानेविरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा भैरहवामा मंगलबारदेखि बिहीबारसम्म साढे २३ घण्टाको बयानमा ७४ वटा लिखित प्रश्नमा सवाल जवाफ भएको थियो । पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक-फरक भएकाले लामिछानेविरुद्ध छुट्टै मुद्दा दर्ता हुन सक्ने छ । अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको छ । 
यसअघि सुप्रिम सहकारी ठगी कसुरमा गोर्खा मिडिया नेटवर्कका पुर्व सञ्चालक छविलाल जोशीसँग पनि बयान लिएको थियो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । ती मध्ये सहकारीका व्यवस्थापक सागर केसी लगायत केही फरार छन् । लामिछानेले बयानका क्रममा सहकारीको रकम अपचलनबारे जीबी राई र सागर केसीलाई सबै कुरा थाहा भएकाले उनीहरुलाई सोध्नुपर्ने बताएका स्रोतको भनाइ छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्