sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री ओली जुम्ला जाँदै

२८ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाने भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री ओली जुम्ला जान लागेका हुन् ।

समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार दीक्षान्त समारोहमा भाग लिएपछि प्रधानमन्त्री ओलीले शैक्षिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री ओलीले जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थीलाई दीक्षित गर्नेछन् । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएसमा १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य रहेको बताए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्