sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रवि लामिछानेको बयान आज पनि जारी

२८ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि बयान हुने भएको छ । 
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा पक्राउ परेका लामिछानेलाई बयानका लागि रूपन्देहीको भैरहवा पुर्‍याइएका हिजो बयान नसकिएकाले आज पनि बयान लिन लागिएको हो । 

रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । लामिछानेलाई कडा सुरक्षाबीच सरकारी वकील कार्यालयले बयान लिएको हो। हिजो दिउँसो १ बजेबाट सुरू भएको बयान साँझ ५ बजेसम्म चलेको थियो । हिजो प्रारम्भिक सोधपुछ मात्र गरिएको जनाइएको छ । फेरि १० बजे बयानका लागि लामिछानेलाई सरकारी वकिल कार्यालयमा लगिने छ । लामिछानेलाई रूपन्देही प्रहरी कार्यालयमा राखिएको छ । भैरहवापछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि काठमाडौंमा बयान लिने तयारी भएको छ । यसअघि पोखराबाट मंगलबार भैरहवा लगिएका लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालय पुर्‍याइएको थियो । 

रूपन्देही जिल्ला अदालतले कात्तिक ८ मा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो। बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडियामा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो । सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध–निर्देशक रहेको गोर्खा मिडियामा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्