sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रवि लामिछानेलाई आज बुटवल लगिँदै

२७ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि आज रुपन्देही लगिँदैछ । 

रुपन्देही जिल्ला अदालतले कात्तिक८ मा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो । अदालतको अनुमतिअनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्