sevenstartv.com १७ असार २०८३, बुधवार

नेकपाका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम सुरू

१४ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रम सुरु भएको छ । कुम्भेश्वरमा स्थापित उनको शालिकमा माल्यार्पण गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जन्मशताब्दी कार्यक्रम सुरु गरेका हुन् । 

गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेता मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली र अनिल शर्मालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

१९८१ कात्तिक १४ गते भाइटीकाका दिन ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौंमा निधन भएको थियो । २००६ सालमा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए ।

उनी २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए । पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर संगठनको संस्थापक अध्यक्ष बनेका थिए भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।