sevenstartv.com १७ असार २०८३, बुधवार

अराजकता र कानुन विपरीतका क्रियाकलाप मौलाउन दिन्न : प्रधानमन्त्री

१३ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप मौलाउन नदिइने बताएका छन् । सशस्त्र प्रहरी बल, सिसं-१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने बताएका हुन् । 

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान, मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिँदै बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिए । समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए ।