अख्तियार र भ्रष्टाचार दुवैलाई जोडेर छलफल गरियो भने उपलब्धिमूलक हुनसक्छ : सांसद् पाण्डे
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् राजेन्द्र पाण्डेले भ्रष्टाचार निवारणसम्बन्धी ऐन कानुन बनाउँदा ध्यान दिनुपर्ने बताएका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नु पर्ने बताएका हुन् ।
सांसद् पाण्डेले देशमा उठेका ठुला ठुला भ्रष्टाचार काण्डको छानबिन अख्तियार, सम्पत्ति शुद्धीकरण कसैले नगर्ने हो भने कसले गर्ने ? भन्ने गम्भीर प्रश्न उठेको भन्दै उनले अख्तियार भ्रष्टाचार सम्बन्धी कानुन बनाउँदा अख्तियारको समेत राय सुझावका आधारमा बनाउँदा राम्रो हुने धारणा राखे । ‘हामीले पास गरेको कुरा अख्तियारले कार्यान्वयन गर्न सकिँदैन भन्यो भने हामीले छलफल गरेको कुरा काम लाग्दैन’, पाण्डेले भने, ‘त्यसैले अख्तियार र भ्रष्टाचार दुवैलाई जोडेर छलफल गरियो भने उपलब्धिमूलक हुनसक्छ ।’
उनले ठुला-ठुला भ्रष्टाचारका काण्ड बेला बेला उठिरहन्छन् तर अख्तियारले छानबिन नगर्ने, सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरणले नसक्ने हो भने कसले गर्ने हो भन्दै यसबारे गम्भीर भएर छलफल गर्न जरुरी रहेको बताए ।






