sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

११ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच समझदारीपत्र आदानप्रदान भएको छ ।

ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा आइतबार बिहान सुदूरपश्‍चिम विश्‍वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीका अध्यक्ष डा.ओ बोङ याङबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको पाँच बुँदे समझदारीपत्र आदानप्रदान भएको हो ।

शैक्षिक तथा प्राज्ञिक उन्‍नयनका लागि दुई विश्‍वविद्यालयबीच यो समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । विश्‍वविद्यालयको फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदानप्रदान गर्ने, सुदूरपश्‍चिम विश्‍वविद्यालय र जोनबुक विश्‍वविद्यालयका विद्यार्थीहरू आदानप्रदान गर्ने, दुवै विश्वविद्यालयबीच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने, संयुक्तरुपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने पाँच बुँदे समझदारी भएको हो ।

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्‍वविद्यालयका प्रा. डा. ह्याक योङ किमले सुदूरपश्चिम विश्‍वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइजर गरेका छन् । समझदारीपत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरेका छन् ।

सन् २०१० मा स्थापना भएको सुदूरपश्‍चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको  छ । नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकको रुपमा रहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्