महिलालाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छ : मन्त्री सुडी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला राजनीतिक र आर्थिक सशक्तीकरणसँगै भेदभाव उन्मुलनमा मात्र नभई सबै नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदारका रूपमा सहभागी हुनुपर्ने बताएका छन् । आज आयोजित नेपालको बेइजिङ प्लस ३० समीक्षा कार्यक्रममा मन्त्री सुडीले महिलालाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका हुन् ।
‘महिला विकासको बलियो स्तम्भका रूपमा भूमिका खेल्न सक्नेमा दृढ विश्वास राख्छु’,उनले भने, ‘महिला अधिकारका लागि निरन्तर पहल गरिरहेकाले महिला र बालबालिकाका लागि सहज र समान समाज विकास गर्न आवश्यक नीतिनिर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ बेइजिङ प्लस ३० समीक्षा सम्मेलनले महिला र बालबालिकाको सशक्तीकरणमा योगदान पुर्याउने मन्त्री सुडीले बताएका छन् ।
महिला तथा बालबालिकाका क्षेत्रमा रहेका समस्याको उजागर गर्दै समाधानको बाटो पहिल्याउने गरी तथ्यपरक प्रतिवेदन बनाउन उनले सुझाव समेत दिए । ‘बेइजिङ समीक्षा र कार्ययोजना महिला सशक्तीकरणका लागि दूरदर्शी एजेण्डा हो । यसले निजी र सार्वजनिक सबै क्षेत्रमा महिला सशक्तीकरणका लागि सरोकार भएका क्षेत्रहरू पहिचान गरेको छ’, मन्त्री सुडीले भने, ‘राष्ट्रियस्तरको यस छलफलले लैङ्गिक समानताका क्षेत्रमा काम गर्नेहरूसँग संलग्न हुन र अझै पनि पिछडिएका व्यक्तिहरूको समस्यालाई उजागर गर्न सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउने अवसर प्रदान गर्नेछ ।’






