सय दिन सफलतापूर्वक सम्पन्न भयो, केही साधन-स्रोतको कमी महसुस गरे : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा १०० दिनका लागि तोकिएको सबै काम गर्न सकेको बताएकी छन् ।
उनले परराष्ट्र मन्त्रालयमा श्रोत साधानको निकै कमी रहेको बताएकी हुन् ।
परराष्ट्रमन्त्री राणाले मन्त्रालयमा आउँँदा कामको ‘ओभर लोड’ खेलेको सुनाइन् । त्यसका बाबजुद कर्मचारीले निकै मिहिनत गरेको भन्दै उनले भनिन्, ‘परराष्ट्र नीति, इकोनोमिक्स डिप्लोमेसी र डायस्पोरालाई दिनुपर्ने सर्भिसेसका लागि नेपालको परराष्ट्र मन्त्रालयलाई चाहिने स्रोत साधन चाहिं कमी रहेछ । मलाई एकदमै कमजोर महसुस भयो ।’
उनले इकोनोमिक्स डेप्लोमेसीका लागि छुट्टै डिभिजन समेत नभएको सुनाइन् । वर्षौंदेखि ओएनएम नभएको तर कस्तो संरचना चाहिन्छ भन्ने अध्ययन नगरी चलेको पाएको उनले सुनाइन् । आफ्नो १०० दिनमा ओएनएम (संगठन तथा व्यवस्थापन) गर्न सफल भएको भन्दै परराष्ट्रमन्त्री राणाले भनिन्, ‘प्रधानमन्त्री, अर्थमन्त्री, सामान्य प्रशासन मन्त्री अर्कै पार्टीको हुनुहुन्छ । तर उहाँहरु र म मिलेर यतिका वर्षसम्म पास नभएको ओएनएम पास गर्न सफल भयौं ।’
उनले भनिन्, ‘दुई पार्टीको प्रतिनिधित्व गरेर काम गर्ने मौका पाएको छु । मैले आफूलाई भाग्यशाली परराष्ट्रमन्त्री ठानेको छु ।’ दुई ठूलो दलको सरकार भएकाले एलडिसी, एशिएन कोअपरेशन डाइलग, विमस्टेक जस्ता फोरममा दूरदर्शी हिसाबले प्रस्तुत हुनसकिन्छ भन्ने लागेको उनले सुनाइन् ।






