sevenstartv.com १६ असार २०८३, मङ्गलवार

यस्ता छन् प्रधानमन्त्री ओलीकाे १०० दिने उपलब्धि

७ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा आज सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका हुन् । 

उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै भने, सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन् । बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।

सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरे । ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरेका छन्  । उनले  जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमा संलग्नमाथि कारबाही गरिने समेत बताएका छन् । 

ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूमाथि सरकारले कानुनी कारबाही सुरु गरेको समेत बताए ।  'हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,, प्रधानमन्त्री ओलीले भने, 'सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।'

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्