sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

मुस्ताङमा फल्यो झन्डै ९२ करोडको स्याउ

४ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पर्यटन र स्याउ उत्पादनमा लोकप्रिय रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा हालैको सिजनमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिक टन उत्पादन भएको छ । 

स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकोमा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीहरूले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन् । जसको कुल मूल्य ६६ करोड ८६ लाख ७२ हजार चार सय रुपैयाँ रहेको छ । यस पटक करिब ६० करोड १८ लाख मूल्य बराबरको स्थानीय जातको स्याउ खपत तथा निर्यात हुने अनुमान गरिएकोमा अनुमान गरेभन्दा छ करोड बढी मूल्यको स्याउ बिक्री भएको छ । 

स्थानीय जातको कुल उत्पादनमध्ये रेड डेलिसियसले ३० प्रतिशत, रोयल डेलिसियसले ३० प्रतिशत, गोल्डेन डेलिसियसले २५ प्रतिशत, रिचा रेड डेलिसियसले १० प्रतिशत र फुजीले पाँच प्रतिशत हिस्सा ओगटेका छन् । मुस्ताङमा बिस्तारै स्थानीय जातको भन्दा आयातित उच्च घनत्व स्याउ जातको उत्पादन राम्रो हुँदै जान थालेको समेत देखिएको छ ।  हाल ६० हेक्टर क्षेत्रफलमा मात्रै उच्च घनत्व जातका स्याउको खेती गरिएकोमा ५० हेक्टर क्षेत्रफलका बोटले उत्पादन दिन सुरु गरिसकेका छन् । 

उक्त क्षेत्रफलबाट एक हजार दुई सय ५० मेट्रिक टन स्याउ फलेको छ। जसको बिक्री दर औसतमा दुई सय रुपैयाँ प्रतिकिलो रहेको छ। यसको कुल मूल्य २५ करोड रुपैयाँ रहेको छ । करिब २२ करोड ५० लाख बराबरको उच्च घनत्व जातको स्याउ फल्ने अनुमान गरिएको भए पनि त्यो भन्दा बढीको स्याउ उत्पादन भएको हो ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्