राज्यको षड्यन्त्रमा रवि लामिछानेलाई पक्राउ गरिएको सिके राउतको दाबी
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राज्यले गरेको ‘फ्रेमिङ’का आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको दाबी गरेका छन् ।
हिजो सभापति लामिछाने पक्राउ परेपछि अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘२१ सिट भएको नयाँ राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन ।’
आफूहरूको बिचमा धरातल र कैयन एजेन्डा फरक होला, कतिपय ठाउँमा विपरीत धारमा पनि उभिएको उल्लेख गर्दै अध्यक्ष राउतले लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा आफूहरूको एकमत रहेको उल्लेख गरेका छन् । सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको उल्लेख गर्दै उनले यो पक्राऊ राज्यद्वारा ’फ्रेमिङ्ग’ गरिएको दाबी गरेका छन् ।
सरकारमा बस्ने पार्टी र शीर्षनेता तथा राज्य चलाउनेहरू कानुनको दुरुपयोग गरेको आरोप लगाउँदै उनले शीर्ष नेताहरूले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, आफ्नो पार्टीमा जबरजस्ती प्रवेश गराउन, अनुचित आर्थिक असूली गर्न त्यसको प्रयोग हतियारको रूपमा गर्दै आएको दाबी गरेका छन् । एउटा निमुखा, गरिब आम मानिसको त हत्या हुँदा समेत प्रहरीले उजुरी दर्ता गर्न नमानिराखेको पनि उनको दाबी छ ।






